
जाजरकोट । चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जाजरकोटमा ‘म दुर्घटना गर्दिनँ’ भन्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा भेरी नगरपालिका–४, शान्तिचौतारास्थित यात्रु सहायता कक्षमा अभियान सञ्चालन गरिएको हो। अभियानमा चालक, सहचालक तथा अन्य सरोकारवालाहरूले सुरक्षित यातायात सुनिश्चित गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन्।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने र चालकको लापरबाही, तीव्र गति तथा ट्राफिक नियम उल्लंघनका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउन अभियान सञ्चालन गरिएको जनाइएको छ।
अभियानमार्फत चालक तथा सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ। साथै, सडक दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले चाडपर्वको समयमा सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। यात्रु सहायता कक्षले यात्राका क्रममा आइपर्ने समस्या समाधान गर्न र यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी नवराज बरालले सडक दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक, यात्रु, यातायात व्यवसायी तथा सम्बन्धित सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
सुरक्षित यात्रा र दुर्घटनामुक्त सडकको लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानले चाडपर्वका बेला हुने सम्भावित सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





