
काठमाडौं — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयकमाथि प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेश गर्नेछिन्।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फस्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रतिनिधिसभाको बैठकमा ती विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रक्रियासहितका अन्य निर्धारित कार्यसूचीमाथि समेत छलफल हुने संसद् सचिवालयले जनाएको छ।






