
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–१ पिपरपाटीका करिब ३३ वर्षीय अनिस अन्सारी रहेका छन्। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९.६ ग्राम गरगहना बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, कतारको दोहा हुँदै काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा उनको साथबाट भन्सार छली गरी ल्याएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद भएको धातु तथा पदार्थ सुन भए–नभएको यकिन गर्न आवश्यक परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।




