
कैलाली, असोज ७ । नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्य समितिको १५औँ महाधिवेशनबाट कृष्ण विष्ट सभापतिमा पुनः निर्वाचित भएका छन्।
साना किसान कृषि सहकारीको सभाहलमा सम्पन्न महाधिवेशनले गाउँपालिका स्तरीय संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ कार्यसमिति चयन गरेको हो।

महाधिवेशनबाट विष्टसँगै उपसभापतिमा प्यारेलाल चौधरी र निर्मला कुमारी कठरिया निर्वाचित भएका छन्। सचिवमा यज्ञराज बन्तोला र सहसचिवमा बोटबहादुर चौधरी चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यसमेत महाधिवेशनबाट चयन गरिएको निर्वाचन समिति संयोजक तेजराज जोशीले जानकारी दिए।
विष्ट यसअघि पनि बर्दगोरिया गाउँकार्य समितिको सभापतिको जिम्मेवारीमा थिए। उनी १४औँ महाधिवेशनअन्तर्गत बर्दगोरिया गाउँपालिकाको सभापतिमा निर्वाचित भएका थिए।
पुनः नेतृत्वमा आएका विष्टसामु गाउँपालिकामा पार्टी संगठनलाई थप चलायमान बनाउने, संगठन विस्तार गर्ने तथा स्थानीय जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने चुनौती रहेको सहभागी नेता तथा कार्यकर्ताले बताएका छन्।
त्यस्तै, युवा तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने र वडा तहसम्म संगठनलाई थप सक्रिय बनाउँदै लैजाने विषयलाई पनि नयाँ नेतृत्वको प्राथमिकताका रूपमा हेरिएको छ।
महाधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।




