
काठमाडौं । नेपाली सेनामा लामो समय सैन्य तहमा सेवा गरेपछि आन्तरिक प्रतिस्पर्धाबाट अधिकृत बनेका देवसिंह अहिले भने सम्पर्कविहीन छन्। सेकेन्ड लेफ्टिनेन्ट बनेलगत्तै उनको पहिलो पोस्टिङ रसुवामा भएको थियो। वैशाखमा रसुवा पुगेका उनी त्यसपछि श्रीनाथ गणअन्तर्गतको टिमुरे पोस्टमा खटिएका थिए।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका बेला पनि देवसिंह टिमुरे पोस्टमै कार्यरत थिए। बाढीपछि उनको अवस्था अज्ञात बनेको हो। घटनापछि परिवार, आफन्त र सहकर्मीहरू उनी सुरक्षित रहेको खबरको प्रतीक्षामा छन्। तर, अहिलेसम्म उनीसँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन।

देवसिंहका लागि रसुवा अधिकृत बनेपछिको पहिलो कार्यक्षेत्र थियो। गत वर्षसम्म उनी जमदारको जिम्मेवारीमा थिए। नेपाली सेनाको आन्तरिक प्रतिस्पर्धामा सहभागी भएर उनले सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) पदमा नाम निकालेका थिए। भक्तपुरको खरिपाटीस्थित सैनिक तालिम केन्द्रमा अधिकृतको तालिम पूरा गरेपछि उनको पहिलो पोस्टिङ नै रसुवाको श्रीनाथ गणमा भएको थियो।
श्रीनाथ गणमा जिम्मेवारी सम्हालेपछि उनलाई गण मातहतको संवेदनशील क्षेत्र टिमुरे पोस्टमा खटाइएको थियो। नेपाल–चीन सीमा क्षेत्र नजिक पर्ने टिमुरेमा उनी सुरक्षा जिम्मेवारीमा कार्यरत थिए। बाढी आउँदा पनि उनी आफ्नो ड्युटी पोस्टमै रहेको बताइएको छ।
देवसिंहको सैनिक यात्रा पनि लामो छ। २०६२ साल असोजमा नेपाली सेनाको सैन्य तहमा भर्ना भएका उनले करिब दुई दशकको सेवाका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गर्दै जमदारसम्मको पदमा पुगेका थिए। लामो समयको अनुभव र सेवापछि उनले आन्तरिक प्रतिस्पर्धाबाट अधिकृत बन्ने अवसर पाए।
अधिकृत बनेपछि नयाँ जिम्मेवारी र नयाँ उत्साहका साथ उनी रसुवा पुगेका थिए। तर, पहिलो पोस्टिङमै आएको प्राकृतिक विपत्तिले उनको परिवारलाई गहिरो चिन्तामा पारेको छ।
देवसिंह रसुवा कार्यरत रहँदा उनकी श्रीमती र दुई छोरा भने काठमाडौंमै बस्दै आएका थिए। काठमाडौंमा रहेका परिवारका सदस्यहरू अहिले उनको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन्। फोन सम्पर्क हुन नसकेपछि परिवारमा थप चिन्ता बढेको छ।
उनका बाआमा भने दार्चुलाको लेकम गाउँपालिका–४ मा बस्दै आएका छन्। छोराले अधिकृत पदमा नाम निकालेपछि परिवारमा खुसी छाएको थियो। लामो समय सैन्य सेवामा बिताएर अधिकृत बनेका देवसिंह पहिलो पोस्टिङमै रसुवा पुगेका थिए। अहिले भने त्यही कार्यक्षेत्रबाट उनको अवस्था अज्ञात भएपछि परिवार र आफन्तहरू चिन्तित छन्।
बाढीपछि सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्। सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी, उद्धार तथा पहिचानका लागि सम्बन्धित निकायले प्रयास गरिरहेका छन्। देवसिंह पनि सुरक्षित अवस्थामा भेटिने आशामा परिवार, आफन्त र सहकर्मीहरू प्रतीक्षारत छन्।




