
नमस्ते !
म सुदूरपश्चिम विश्वविद्यालय, कानुन संकायको नवौँ सेमेस्टरमा अध्ययनरत छात्रा ऋतु देवकोटा। वर्तमान राजनीतिक परिवेश, सरकारप्रतिको बढ्दो आलोचना, गाली, तिरस्कार, विरोध, असन्तुष्टि तथा विभिन्न आन्दोलनलाई नजिकबाट नियाल्दै आफ्ना अनुभव र अध्ययनका आधारमा यो लेख तयार पारेकी छु।

आजको बदलिँदो परिवेश, सञ्चार प्रविधिको तीव्र विकास, परिवर्तनशील राज्यको स्वरूप तथा राज्य र नागरिकबीचको सम्बन्ध, भूमिका, योगदान, जिम्मेवारी र चासोका विषयहरू महत्वपूर्ण बन्दै गएका छन्।
केही महत्वपूर्ण प्रश्न
हामीले चाहेको जनअपेक्षाअनुसारको सरकार के वास्तवमै अस्तित्वमा छ? युवाहरूको मानसपटलमा सरकारप्रतिको दृष्टिकोण कस्तो छ? बदलिँदो राजनीतिक परिवेशअनुसार सरकार साँच्चै जनताप्रति जवाफदेही छ त? असल राजनीतिक सिद्धान्त, विचार र राजनीतिक संस्कारलाई हामीले उचित ढङ्गले प्रयोग गरिरहेका छौँ?
राजनीतिप्रति युवाहरूको सोच सकारात्मक छ कि नकारात्मक? नागरिकका जनअपेक्षा, इच्छा, आधारभूत आवश्यकता तथा विकासका गतिविधि पूरा भइरहेका छन्? सरकारप्रति नागरिकले राखेका अपेक्षा पूरा भइरहेका छन्? यस्ता विषयमा युवाहरूको रोजाइ र सहभागिता कस्तो हुनुपर्छ?
सरकारलाई खबरदारी गर्ने विषयमा युवा नेतृत्वको भूमिका कस्तो हुनुपर्छ? यी प्रश्नहरू आज गम्भीर चिन्तनका विषय बनेका छन्।
कुनै पनि देशको राजनीतिक परिवेश कस्तो हुनुपर्छ र असल राजनीतिक सिद्धान्तको स्थापना कसरी गर्न सकिन्छ भन्ने विषयमा युवा वर्गको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ।
राजनीतिक असन्तुष्टि र युवाको भूमिका
नेपालमा विगतदेखि नै राजनीतिक असन्तुष्टि, अस्थिरता, आक्रोश, आलोचना, विभिन्न सरकारी तथा गैरसरकारी निकायमा राजनीतिक प्रभाव र दबाब, दलगत तथा व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद, भ्रष्टाचार र घुसखोरीजस्ता विषय चासोका विषय बन्दै आएका छन्।
यिनै विविध विषयलाई लिएर आज युवा वर्ग सडकदेखि सिंहदरबारसम्म विभिन्न एजेन्डा र अधिकारका लागि आवाज उठाइरहेको छ।
पछिल्लो समयमा नेपालमा नयाँ राजनीतिक सोच र नेतृत्वप्रतिको आकर्षण बढ्दै गएको देखिन्छ। राजनीतिक असन्तुष्टि बढ्दै जाँदा युवा नेतृत्वको आवश्यकता पनि थप महसुस भएको छ।
अबको राज्य, राजनीति र कानुनको रूपरेखा कस्तो हुनुपर्छ भन्ने विषयमा निर्णय लिन युवा वर्ग सक्षम हुनुपर्छ। त्यसका लागि युवाहरूले आफ्नो कर्तव्य र भूमिकाप्रति निष्ठावान् हुँदै जिम्मेवारी निर्वाह गर्न आवश्यक छ।
बदलिँदो राजनीतिक परिवेशमा युवाको भूमिका किन आवश्यक छ?
विशेषगरी अशिक्षा, बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, कमजोर सुशासन, दलगत स्वार्थ तथा सरकारी निकायमाथि हुने अराजनीतिक हस्तक्षेपजस्ता समस्याको मूल्याङ्कन र निराकरणका लागि शिक्षित, सचेत र जिम्मेवार युवा वर्गको आवश्यकता छ।
यिनै कारणले युवाहरू राजनीतिबाट टाढा रहने होइन, राजनीतिलाई नजिकबाट बुझ्दै अझ सक्रिय, जिम्मेवार र सकारात्मक भूमिकामा आउनुपर्ने अवस्था सिर्जना भएको छ।
युवा राष्ट्रका महत्वपूर्ण शक्ति हुन्। आज सक्षम युवाहरूले देशमा भइरहेका राजनीतिक गतिविधि, उठिरहेका सवाल, आन्दोलन र विभिन्न एजेन्डाको समीक्षा गर्दै आफ्ना माग र आवाजलाई राज्यका सम्बन्धित निकायसम्म पुर्याइरहेका छन्।
यस प्रकारको सचेत खबरदारीले सरकारलाई पनि जिम्मेवार, सचेत र जवाफदेही बन्न दबाब सिर्जना गर्छ। निरन्तर खबरदारी र रचनात्मक सहभागितामार्फत असल राष्ट्र निर्माण, सुशासन, भ्रष्टाचारमुक्त समाज र विधिको शासन कायम गर्न महत्वपूर्ण योगदान पुग्न सक्छ।
नेपालमा पटक–पटक सरकार परिवर्तन भइरहे पनि राजनीतिक सिद्धान्त र असल राजनीतिक संस्कारको अपेक्षित विकास हुन नसक्दा युवामा निराशा र आक्रोश देखिन्छ। यही कारण युवा वर्ग विभिन्न कार्यक्रम, आन्दोलन, धरना, गोष्ठी तथा सामाजिक अभियानमार्फत सरकारलाई खबरदारी गरिरहेको छ।
असल राजनीतिक संस्कारको स्थापनाका लागि युवा परिवर्तनका संवाहक बन्न आवश्यक छ।
युवा राजनीतिमा आउनु मात्रै पर्याप्त छ?
त्यसैले मेरो मुख्य प्रश्न हो—युवा राजनीतिमा आउनु चासोको विषय मात्र होइन; युवा कस्तो राजनीतिक संस्कार, सोच, चरित्र र उद्देश्य बोकेर राजनीतिमा आउँछन् भन्ने कुरा अझ महत्वपूर्ण हो।
राजनीतिमा आउने हरेक नयाँ शिक्षित पुस्ताले फरक सोच, सकारात्मक धारणा र असल नेतृत्वका लागि आफूलाई सक्षम बनाउन आवश्यक छ।
युवा वर्गले पनि सरकारलाई जवाफदेही, पारदर्शी र विधिको शासनमा आधारित बनाउन र असल राष्ट्र निर्माणमा सहयोग गर्नुपर्छ। विगतका अनुभवबाट सिक्दै नयाँ समस्या पहिचान गरी तिनको समाधान खोज्नुपर्छ।
युवाको योगदान के त?
युवाले भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध हुनुपर्छ। युवा केवल आन्दोलनमा मात्र सक्रिय भएर पुग्दैन; समाजदेखि राष्ट्रसम्म निष्पक्ष, जिम्मेवार र रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ।
नीति निर्माणदेखि असल समाज र राष्ट्र निर्माणसम्म आवश्यक योगदान दिन युवा तयार हुनुपर्छ।
‘हाम्रा’ होइन, ‘राम्रा’ व्यक्तिलाई छनोट गर्ने संस्कारको विकास गर्नुपर्छ।
विभिन्न भ्रष्टाचार, अनियमितता र बेथितिविरुद्ध आवाज उठाउँदै सरकारलाई सचेत गराउन सक्नुपर्छ।
हाम्रो मुख्य समस्या के हो?
वास्तवमा राजनीतिक दल वा नेताप्रति अन्धभक्त भएर गलत कुरालाई समेत समर्थन गर्ने प्रवृत्ति हाम्रो राजनीतिक संस्कारको एउटा गम्भीर समस्या हो।
आफ्नो दल वा नेतालाई गलत काममा खबरदारी गर्नुको सट्टा अन्धसमर्थन गर्ने र ‘पार्टीको झोलेपन’ कायम राख्ने प्रवृत्तिका कारण असल राजनीतिक सिद्धान्त र संस्कारको विकास हुन सकेको छैन।
लोकतन्त्रको गलत प्रयोग र दुरुपयोगलाई रोक्दै सकारात्मक पक्षलाई प्रोत्साहन तथा गलत प्रवृत्तिको विरोध गर्न सक्नु शिक्षित युवा वर्गको महत्वपूर्ण गुण हो।
कस्तो युवा नेतृत्वको आवश्यकता छ?
उमेरले मात्र युवा नेतृत्व निर्धारण हुँदैन। युवाको सोच, चरित्र, क्षमता, विचार, दृष्टिकोण, दर्शन र सिद्धान्त फराकिलो, सकारात्मक र राष्ट्रहितमा केन्द्रित हुनुपर्छ।
एउटा बलियो, सक्षम र इमानदार युवा नेतृत्वले असल राजनीतिक संस्कारको आधार निर्माण गर्न सक्छ।
त्यसैले राजनीतिमा युवाको संख्या बढाउनु मात्र पर्याप्त छैन। राजनीतिक संस्कार परिवर्तन गर्न, नयाँ सोच स्थापित गर्न र सकारात्मक नेतृत्व विकास गर्न सक्ने युवाको आवश्यकता छ।
समाधान के?
राजनीति सबै नीतिको मूल नीति हो। जबसम्म राजनीति सही ढङ्गले सञ्चालन हुँदैन, तबसम्म लोकतन्त्रको वास्तविक लाभ जनतासम्म पुर्याउन कठिन हुन्छ। राज्यका सबै निकायलाई पारदर्शी, जवाफदेही र जिम्मेवार बनाउन पनि राजनीतिक संस्कार महत्वपूर्ण हुन्छ।
जुन मुलुकमा राजनीति र युवा वर्गबीच सहकार्य, सहअस्तित्व, साझेदारी र मैत्रीपूर्ण सम्बन्ध हुन्छ, त्यस्तो मुलुक सभ्य, समृद्ध र सफल बन्न सक्छ।
यसमा सबैभन्दा महत्वपूर्ण भूमिका युवाकै हुन्छ।
युवा वर्ग राष्ट्रका पहरेदार हुन्। विशेषगरी राजनीति कुनै व्यक्तिगत लाभ वा पेशा मात्र नभई जनसेवा हो भन्ने विषयमा युवा वर्ग स्पष्ट हुनुपर्छ।
अब युवाहरू सचेत हुँदै विधिको शासन, नीति, कानुन र संवैधानिक सीमाभित्र रहेर सुधारात्मक भूमिका निर्वाह गर्न सक्षम हुनुपर्छ। राज्य र सरकारलाई सही दिशामा अघि बढाउन, असल मार्गदर्शन गर्न तथा मैत्रीपूर्ण राजनीतिक वातावरण निर्माण गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ।
युवाहरूले नै असल राजनीतिक संस्कारको विकास गरी नयाँ पुस्ताका लागि सकारात्मक सन्देश दिन सक्नुपर्छ।
त्यसका लागि युवाहरू दलीयकरणको दबाब र प्रभावबाट सकेसम्म मुक्त भई विवेकपूर्ण र निष्पक्ष निर्णय लिन सक्षम हुनुपर्छ। विगतका राजनीतिक अनुभवबाट पाठ सिक्दै वर्तमानका समस्या र नयाँ राजनीतिक चुनौतीको समाधान खोज्नुपर्छ।
सरकारको आलोचना मात्र गर्ने होइन, सरकारले गरेका राम्रा कामलाई प्रोत्साहन र गलत कामको तथ्यपूर्ण तथा रचनात्मक विरोध गर्न सक्नुपर्छ।
अबको नेतृत्व असल, कुशल, सक्षम, जवाफदेही र जनमुखी बनाउन युवा वर्ग सक्रिय हुन आवश्यक छ।
अन्त्यमा
राजनीतिमा युवाको सहभागिता आफ्नो व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको सुशासन, विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण, अपराध नियन्त्रण, समानता र सभ्य समाज निर्माणमा केन्द्रित हुनुपर्छ।
नागरिक समाज, सञ्चारजगत् तथा अन्य सरोकारवाला पक्षलाई समेत उचित स्थान दिँदै देश र युवा जनशक्तिलाई बलियो बनाउन युवा वर्गले भूमिका निर्वाह गर्नुपर्छ।
अन्ततः प्रश्न युवा राजनीतिमा आउँछन् कि आउँदैनन् भन्ने होइन। प्रश्न त कस्तो सोच, कस्तो चरित्र, कस्तो राजनीतिक संस्कार र कस्तो उद्देश्य बोकेर युवा राजनीतिमा आउँछन् भन्ने हो।
युवाले सही सोच, सकारात्मक दृष्टिकोण, इमानदारी, क्षमता र राष्ट्रप्रतिको जिम्मेवारीका साथ राजनीति अघि बढाउन सके हाम्रो राजनीतिक संस्कारमा सकारात्मक परिवर्तन सम्भव छ।
त्यसो गर्न सके हाम्रो मुलुक ‘सुखी नेपाली, समृद्ध नेपाल’ बन्ने यात्रामा अघि बढ्न नसक्ला र?
समृद्ध नेपाल, सुखी नेपाली।
लेखिका : ऋतु देवकोटा
सुदूरपश्चिम विश्वविद्यालय, कानुन संकाय, नवौँ सेमेस्टर




