काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खुला प्रतियोगिताबाट प्रहरी निरीक्षक पदमा नवनियुक्त भएका २९ प्रहरी अधिकृतमध्ये विभागीयतर्फका १६ जनालाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आईजीपी कार्कीले विभागीयतर्फबाट प्रहरी निरीक्षकमा नियुक्त भएका १६ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोही अवसरमा खुलातर्फ उत्तीर्ण भएका १३ जना प्रहरी निरीक्षकलाई नियुक्तिपत्रसमेत प्रदान गरिएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनअनुसार सञ्चालित खुला प्रतियोगिताको अन्तिम नतिजा २०८३ भदौ ६ गते सार्वजनिक भएको थियो । नतिजाअनुसार विभागीयतर्फ १६ र खुलातर्फ १३ गरी कुल २९ जना प्रहरी निरीक्षक पदमा उत्तीर्ण भएका थिए ।

गृह मन्त्रालयको सचिवस्तरीय २०८३ भदौ ९ गतेको निर्णयअनुसार उनीहरूलाई भदौ १५ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त गरिएको हो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नवनियुक्त प्रहरी निरीक्षकहरूलाई बधाई तथा नेपाल प्रहरी संगठनमा स्वागत गरे । उनले नवनियुक्त अधिकृतहरूले प्रदर्शन गरेको समर्पण, अथक परिश्रम र मेहनतकै परिणामस्वरूप सफलता हासिल भएको बताए ।

आईजीपी कार्कीले प्रहरी संगठनका नीति, निर्देशन, मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै नागरिकलाई केन्द्रमा राखेर उच्च व्यावसायिकता, इमानदारी र जिम्मेवारीबोधका साथ कार्य गर्न नवनियुक्त प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए ।

उनले बदलिँदो सुरक्षा परिवेशसँगै संगठित अपराध, साइबर अपराध, आर्थिक अपराध तथा प्रविधिको दुरुपयोगबाट सिर्जित अपराधका चुनौती थप जटिल र बहुआयामिक बन्दै गएको उल्लेख गरे । यस्ता चुनौतीको प्रभावकारी सामना गर्न व्यक्तिगत ज्ञान, सीप, व्यावसायिक दक्षता र उच्च नैतिक आचरणसहित जिम्मेवारी निर्वाह गर्न उनले प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

त्यस्तै, विपद् व्यवस्थापनका क्रममा देखिने समस्या तथा चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्दै नागरिकका अपेक्षाअनुसार संवेदनशील र जिम्मेवार भएर काम गर्नसमेत आईजीपी कार्कीले निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायव महानिरीक्षक (डीआईजी), वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय