
काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ।
गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली प्रभावित क्षेत्रमा खटाइएको छ। टोलीले हवाई रेकीसहित सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य गरिरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी छन्।
त्यस्तै, आयोजनाको निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना कर्मचारी पनि सम्पर्कविहीन छन्।
बाढीका क्रममा आयोजनाको भूमिगत डिसेन्डरमा छ जना फसेका थिए। उनीहरूमध्ये चार जना दुई दिनको निरन्तर प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए। बाहिर निस्कन सफल चारै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ।
बाँकी सम्पर्कविहीनहरूको खोजीका लागि सुरक्षाकर्मी, प्राविधिक तथा विज्ञ टोलीले सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्रता दिएको छ।




