
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित विभिन्न जिल्लामा उद्धार, खोजतलास, राहत वितरण, शव व्यवस्थापन तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले उच्च अधिकारीको नेतृत्वमा विशेष टोलीहरू परिचालन गरेको छ।
प्रहरीका अनुसार केही टोलीलाई प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा खटाइएको छ भने केहीलाई काठमाडौंमा राखेर विभिन्न निकायबीच समन्वयको जिम्मेवारी दिइएको छ। डिआइजी सुदर्शन कोइरालाको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालयमा बेस रहने गरी आपत्कालीन समन्वय केन्द्र सञ्चालनका लागि टोली परिचालन गरिएको छ। उक्त टोलीले रसुवा लगायत विभिन्न जिल्लामा भएका घटनाको समग्र अवस्था, उद्धार तथा राहत गतिविधिबारे सूचना संकलन र समन्वय गर्नेछ।

त्यस्तै, काठमाडौं उपत्यकाका अस्पतालसँग समन्वय तथा समग्र प्रहरी परिचालनका लागि डिआइजी ओमबहादुर रानाको कमान्डमा शिक्षण अस्पताल महाराजगन्जमा कमान्ड पोस्ट स्थापना गरिएको छ।
उद्धारदेखि कानुनी सहायतासम्म छुट्टाछुट्टै टोली
घटनास्थलमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन एसएसपी दीपशमशेर जबराको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ।
कानुनी सहायता तथा आवश्यक प्रक्रियाका लागि एसएसपी कृष्णप्रसाद पँगेनीको नेतृत्वमा चार सदस्यीय टोली खटाइएको छ। यस्तै, सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा उनीहरूका परिवारसँग समन्वय गर्न सन्तोषकुमार भट्टराईको कमान्डमा पाँच सदस्यीय टोली परिचालन गरिएको छ।
बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि मात्रै छवटा टोली परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन्। एसएसपी योगबहादुर पालको संयोजकत्वमा ६ सदस्यीय टोली शव व्यवस्थापनमा केन्द्रित छ।
राहत वितरणमा सहयोग पुर्याउन एसपी निर्मल बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय टोली प्रभावित क्षेत्रमा परिचालित छ। विमानस्थलमा मृतकका शव प्राप्त भएको अवस्थामा सुरक्षित व्यवस्थापन, पहिचान तथा सम्बन्धित निकाय र परिवारसँग समन्वय गर्न एसपी राजकुमार सिलवालको कमान्डमा चार सदस्यीय टोली खटाइएको छ।
त्यस्तै, एसपी रविन श्रेष्ठ र डिएसपी कमल बेल्वासेलाई समन्वय अधिकृत तथा डिएसपी अनिल ठाकुरलाई अन्य सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
नुवाकोट र चितवनमा मुचुल्का टोली
घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पनि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ। डिएसपी हिरेन्द्रबहादुर रोकायाको कमान्डमा १२ सदस्यीय टोली नुवाकोट तथा इन्स्पेक्टर काशीराज थापाको कमान्डमा नौ सदस्यीय टोली चितवनतर्फ खटाइएको छ। यी टोलीले घटनासँग सम्बन्धित मुचुल्का तयार गर्नेछन्।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल प्रहरी अस्पतालबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्दबहादुर बुढाथोकीको नेतृत्वमा २२ जना चिकित्सकको टोली रसुवातर्फ परिचालन गरिएको छ।
पाँच एसएसपीलाई विभिन्न जिल्लाको जिम्मेवारी
बाढी प्रभावित जिल्लामा समग्र सुरक्षा तथा समन्वयलाई थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले पाँच एसएसपीको कमान्डमा थप टोली परिचालन गरेको छ।
एसएसपी तारादेवी थापालाई चितवन, एसएसपी कृष्ण अधिकारीलाई मुग्लिनमा बेस रही तनहुँ, गोरखा र चितवन क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ। एसएसपी रमेश थापाको नेतृत्वमा चार सदस्यीय टोली गल्छीमा बेस राखी धादिङ तथा नुवाकोट सीमासम्म परिचालित छ।
त्यस्तै, एसएसपी अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिमको समन्वयको जिम्मेवारी दिइएको छ। एसएसपी विमलराज कँडेलको कमान्डमा चार सदस्यीय टोली नुवाकोटमा बेस राखी जिल्लाभर तथा रसुवा सीमासम्म परिचालित छ।
एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा चार सदस्यीय टोली भने रसुवा लगायतका क्षेत्रमा क्षतिग्रस्त राजमार्ग तथा सडकखण्डमा आवतजावत सुचारु गर्न अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयसँग समन्वयमा जुटेको छ।
शव पहिचानका लागि अनलाइन पोर्टल
बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूको पहिचान सहज बनाउन नेपाल प्रहरीले अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ। पोर्टलमार्फत बरामद भएका शवका तस्बिर तथा विवरण हेरी पहिचानमा सहयोग गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार क्युआर कोड स्क्यान गरेर समेत शवसम्बन्धी विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी, देशभरका प्रहरी कार्यालयमार्फत सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। हराइरहेका आफन्तको विवरण नजिकको जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउन समेत प्रहरीले आग्रह गरेको छ।
विपद्को घडीमा उद्धार, राहत, खोजतलास, शव व्यवस्थापन र कानुनी प्रक्रियालाई एकीकृत रूपमा अघि बढाउँदै प्रहरीले प्रभावित क्षेत्रमा आफ्नो परिचालनलाई थप तीव्र बनाएको छ।




