काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो, सडक भासिने तथा हिलो जम्ने समस्याका कारण केही सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ भने जोखिमयुक्त मार्गमा रातिको आवागमनमा समेत रोक लगाइएको छ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन्।

 

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने आवागमन खुला रहनेछ।

 

त्यस्तै, कान्ति लोकपथमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी सञ्चालन रोकिएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नदिइएको प्रहरीले जनाएको छ।

 

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ वैकल्पिक मार्गबाट आवतजावत गर्न सकिने जनाइएको छ।

 

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत इकुमा पहिरो तथा लिपिङ क्षेत्रमा सडक भासिएपछि सडक पूर्ण रूपमा बन्द भएको छ। रसुवामा त्रिशूली नदीको कटानका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएको छ भने स्याउपार्किङमा पहिरो खस्दा पासाङल्हामु सडकसमेत बन्द भएको छ।

 

यसैगरी, रुकुम पश्चिमको रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरको जाजरकोट–डोल्पा सडक र रोल्पाको लाद्रेमा पहिरो जाँदा सहिद राजमार्ग अवरुद्ध भएका छन्।

 

प्रहरी प्रधान कार्यालयले बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। आवश्यक परे यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय