
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउन जाने क्रममा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।
हनुमान मन्दिर क्षेत्रबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय पुगेपछि सुरक्षाकर्मीले कार्यालयको मूल गेटअगाडि ब्यारिकेड गरी प्रदर्शनकारीलाई रोकेका थिए। सम्भावित अप्रिय घटना रोक्न प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो।

देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो। घटनामा घाइते भएका अन्य केही व्यक्तिको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनीका घटना भएका छन्। त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका नौ स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको थियो।
प्रशासनले साउन १२ गते राति ९ बजेदेखि लागू गरेको कर्फ्यु अर्को सूचना जारी नभएसम्म कायम रहने जनाएको छ। कर्फ्युका कारण देवानगञ्ज–कप्तानगञ्ज क्षेत्र उच्च सुरक्षा निगरानीमा रहे पनि सुनसरीका अन्य अधिकांश स्थानमा जनजीवन क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।




