महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्ट अगाडि राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७००२ नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो।

पक्राउ पर्नेमा डडेल्धुराको साविक रूपाल गाविस–७, हाल भागेश्वर गाउँपालिका–१ बस्ने २६ वर्षीय पदम ठकुराठी र रौतहटको चन्द्रपुर नगरपालिका–४, गैरीगाउँ निवासी एक बालिका रहेकी छन्।

प्रहरीका अनुसार चेकजाँचका क्रममा पदम ठकुराठीको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। परीक्षण गर्दा उक्त पदार्थको तौल ३५.०४ ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय