पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अनलाइन जुवा तथा सट्टेबाजीविरुद्धको अभियानमा ठूलो सफलता हासिल गर्दै अवैध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू र घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले घटनाको विस्तृत विवरण सार्वजनिक गरेका थिए। कार्यक्रममा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाको जवाफ एसपी कार्कीले दिएका थिए।

प्रहरीका अनुसार २०८३ असार २६ गते बिहान करिब ८ बजे प्राप्त गोप्य सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले पोखरा महानगरपालिका–१८ सेदीस्थित एक घरमा छापा मारेको थियो। घरमा गरिएको खानतलासीका क्रममा अनलाइन जुवा तथा सट्टेबाजी सञ्चालन भइरहेको अवस्थामा ८ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रारम्भिक अनुसन्धानबाट उक्त घर २०८२ चैत १८ गतेदेखि सफ्टवेयर कम्पनी सञ्चालन गर्ने बहानामा भाडामा लिइएको खुलेको छ। सात कोठा रहेको घरलाई बसोबाससँगै अनलाइन गेम खेलाउने तथा सट्टेबाजी सञ्चालन गर्ने केन्द्रका रूपमा प्रयोग गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा Telegram र WhatsAppमार्फत gurubhai247.pro नामक लिंक पठाई ग्राहकबाट रकम जम्मा गराउने, त्यसपछि दर्ता गरी क्रिकेट, फुटबल तथा क्यासिनो खेलमा सट्टेबाजी गराउने गरिएको खुलेको छ। हारजितका आधारमा रकम अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको समेत प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त गिरोहले दैनिक करिब ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म कारोबार गर्ने गरेको देखिएको छ। भारतीय नागरिकका बैंक खाताहरू प्रयोग गरी सम्पूर्ण आर्थिक कारोबार अनलाइनमार्फत हुने गरेको तथा यसको मुख्य सञ्चालन भारतबाट भइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। नेपालमा यो नेटवर्क २७औँ शाखाका रूपमा सञ्चालन भएको प्रहरीको दाबी छ।

कम्प्युटर तथा अन्य डिजिटल उपकरणको परीक्षणका क्रममा विभिन्न खातामा लाखौं रुपैयाँ बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक जना दार्चुलाका, एक जना भारतीय नागरिक र अन्य पोखरा क्षेत्रका रहेका छन्।

घटनाबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै एसपी नवीन कार्कीले प्रविधिको दुरुपयोग गरेर सञ्चालन हुने अनलाइन जुवा तथा सट्टेबाजी नियन्त्रणलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे। साथै, अनुसन्धान अझै जारी रहेकाले यस नेटवर्कसँग जोडिएका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय