बाँके । मनसुन सक्रिय भएसँगै देशभरका राजमार्ग तथा ग्रामीण सडकमा पहिरो, डुबान, सडक कटान र सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

कार्यालयले वर्षायाम लक्षित जनचेतनामूलक सन्देश सार्वजनिक गर्दै झरीको समयमा सडकको अवस्था, मौसमको पूर्वानुमान र सवारीसाधनको प्राविधिक अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको हो। कार्यालयले “झरीको समयमा सडकको अवस्था र सवारीसाधनको कन्डिसन हेरेर मात्र यात्रा गरौं, पूर्ण र सही जानकारीका आधारमा सुरक्षित घर फर्कौं” भन्ने नारासहित सुरक्षित यात्राको सन्देश प्रवाह गरेको छ।

ट्राफिक प्रहरीका अनुसार वर्षायाममा सामान्य लापरबाहीले पनि ठूलो दुर्घटनाको रूप लिन सक्ने भएकाले यात्रुअघि सडकको अवस्था, मौसमको जानकारी तथा गन्तव्यसम्मको मार्गबारे जानकारी लिन आवश्यक छ। विशेषगरी पहिरोको जोखिम रहेका क्षेत्र, खोलानाला उर्लिएका स्थान तथा डुबान भएका सडकमा यात्रा गर्दा थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, सवारीसाधनको ब्रेक, टायर, लाइट, वाइपर, इन्जिन आयललगायत अत्यावश्यक प्रणालीको परीक्षण गरी मात्रै यात्रा गर्न तथा आवश्यक औजार र प्राथमिक उपचार सामग्री साथमा राख्न पनि सुझाव दिइएको छ।

चालकहरूलाई तीव्र गतिमा सवारी नचलाउन, मदिरा सेवन गरी सवारी नचलाउन, मोबाइल फोन प्रयोग नगर्न तथा सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग गर्न ट्राफिक प्रहरीले विशेष अनुरोध गरेको छ। साथै, अत्यावश्यक अवस्था बाहेक वर्षायाममा रातिको समयमा लामो दूरीको यात्रा नगर्न पनि सुझाव दिइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी निरीक्षक कनक ई. शाहीले वर्षायाममा सानो सावधानीले पनि ठूलो दुर्घटना रोक्न सकिने उल्लेख गर्दै सबै चालक तथा यात्रुलाई जिम्मेवार र सचेत भएर यात्रा गर्न आग्रह गरे।

उनका अनुसार सुरक्षित यात्रा व्यक्तिगत जिम्मेवारी मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएकाले समयमै सूचना लिने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने र ट्राफिक नियमको पूर्ण पालना गर्ने बानीले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय