संखुवासभा । जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक दोषीलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पाँचखपन नगरपालिका–७ निवासी ५७ वर्षीय गंगाबहादुर राई उर्फ दुर्गाबहादुर राईलाई बुधबार पक्राउ गरिएको हो।

प्रहरीको विशेष सुराकीका आधारमा गरिएको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय वानाको टोलीले उनलाई पाँचखपन–७ स्थित आफ्नै घर नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

राईले २०५५ सालमा २२ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेपछि फरार भएका थिए। उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत, धनकुटा इजलासले २०६५ भदौ ५ गते उनलाई तीन वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला कार्यान्वयनबाट लामो समय फरार रहेका राईलाई २८ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय