
जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा विभिन्न स्थानबाट २४ नाल भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउने, वन्यजन्तु तथा पशुपन्छीको अवैध शिकार नियन्त्रण गर्ने उद्देश्यले विशेष अपरेसन सञ्चालन गरिएको थियो।

उक्त अभियानका क्रममा बारेकोट गाउँपालिकाबाट ९ नाल, नलगाड नगरपालिकाबाट ७ नाल, कुशे गाउँपालिकाबाट ५ नाल, भेरी नगरपालिकाबाट २ नाल र शिवालय गाउँपालिकाबाट १ नाल गरी कुल २४ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सबै भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीले अवैध हातहतियार नियन्त्रण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै यस्ता गतिविधिबारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।



