
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, तातोपानीस्थित अरनिको राजमार्गबाट भन्सार छली गरी ल्याइएका चिनियाँ खाद्यान्न सामग्री बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोदारी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट तातोपानीबाट खटिएको संयुक्त टोलीले बा.प्र.०१–०२५ च १६८१ नम्बरको टाटा योद्धा गाडी जाँच गर्ने क्रममा विभिन्न प्रकारका चिनियाँ खाद्यान्न तथा उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका खाद्यान्न सामग्रीको अनुमानित बजार मूल्य रु. २१ लाख २५ हजार ७ सय रहेको छ।
बरामद सामग्री तथा सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) जेसी शाह ले जानकारी दिएका छन्।



