
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्र संघ (युएन) अन्तर्गत आयोजना हुने कार्यक्रममा सहभागी हुन आज अमेरिका प्रस्थान गर्ने भएका छन्।
आईजीपी कार्की विदेश भ्रमणमा रहने अवधिमा नेपाल प्रहरीको दैनिक प्रशासन तथा नियमित कामकाज सञ्चालन गर्ने जिम्मेवारी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई दिइएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले आईजीपी कार्कीको अनुपस्थितिमा एआईजी अधिकारीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको जानकारी दिए।
प्राप्त जानकारीअनुसार आईजीपी कार्की आज साँझ ६:०० बजे कतार एयरवेजको उडान दोहा हुँदै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी इन्टरपोलसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनेछन्।



