काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रणालीमा गम्भीर प्रशासनिक कमजोरी देखिएको छ। जागिर त्यागेर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेका एक असई (सहायक निरीक्षक) हालै सार्वजनिक गरिएको सई (प्रहरी नायब निरीक्षक) बढुवा सिफारिस सूचीमा समावेश भएपछि प्रहरी मुख्यालयको अभिलेख व्यवस्थामाथि प्रश्न उठेको हो।

असई जोसेफ तावा ताप्लेजुङस्थित प्रहरी चौकी सिवामा कार्यरत थिए। उनी वैशाख १६ गतेदेखि गैरहाजिर भएपछि उनीविरुद्ध जागिरबाट हटाउने प्रक्रिया अघि बढाइएको थियो। प्रहरी प्रधान कार्यालयले असार १० गते सार्वजनिक सूचना जारी गर्दै उनलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको थियो।

तर, सो सूचनापछि दुई दिनमै सार्वजनिक गरिएको सई बढुवा सिफारिस सूचीमा भने तावाको नाम १३३ नम्बरमा समावेश भएको भेटिएको छ। स्रोतका अनुसार उनी दुई महिनाअघि नै प्रहरी सेवा छाडेर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेका छन्।

प्रहरी अधिकारीहरूका अनुसार जागिरबाट हटाउने प्रक्रिया अन्तिम निर्णयमा नपुगिसकेकाले उनको विवरण प्रणाली (सिस्टम) मा सक्रिय अवस्थामै रहेको थियो। सोही आधारमा स्वचालित रूपमा उनको नाम बढुवा सूचीमा समावेश भएको बताइएको छ।

यो घटनाले प्रहरी संगठनको अभिलेख अद्यावधिक प्रणाली र बढुवा प्रक्रियाबीच प्रभावकारी समन्वयको अभाव रहेको देखाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार त्रुटि सच्याउँदै बढुवा निर्णयबाट उनको नाम हटाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय