
काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको उपचारका क्रममा निधन भएको छ। उनको आज बिहान करिब ६:५५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।
प्रहरी नियमावलीअनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजी पदबाट अनिवार्य अवकाशमा जाने व्यवस्थाअनुसार ठकुरी २०८१ साल मङ्सिर ३० गते नेपाल प्रहरी सेवाबाट अवकाश भएका थिए।

सेवाकालमा उनले कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखलगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै संगठनमा योगदान दिएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहँदा उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। तर, आवश्यक प्रक्रिया पूरा नभएको भन्दै प्रहरी प्रधान कार्यालयले उक्त राजीनामा स्वीकृत नगरी फिर्ता गरेको थियो।
उनको निधनप्रति नेपाल प्रहरी परिवार, पूर्व तथा बहालवाला प्रहरी अधिकृतहरू, सहकर्मी र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।



