
बर्दिया, असार ९ – बर्दिया प्रहरीले करिब २२ लाख ६७ हजार रुपैयाँ बराबरका अवैध मोबाइल फोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार असार ८ गते राति इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२ फुताहा चोकस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक गस्ती गर्ने क्रममा उक्त मोबाइलहरू फेला पारेको हो।

प्रहरीले शंकास्पद गतिविधि देखिएपछि केही व्यक्तिहरूलाई पछ्याएको थियो। प्रहरीको उपस्थिती देख्नासाथ उनीहरूले साइकलमा ल्याइएका ६ वटा बोरा छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले उक्त बोराहरू जाँच गर्दा ५४० थान LAVA A3 Torch र ३३२ थान LAVA A7 Torch गरी जम्मा ८७२ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
बरामद गरिएका मोबाइल फोनको अनुमानित बजार मूल्य २२ लाख ६७ हजार २८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। मोबाइलहरू आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया बुझाइएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।



