
सिन्धुपाल्चोक । नेपाल–चीन सीमा नाका तातोपानी हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ। सिन्धुपाल्चोक प्रहरीले आइतबार बिहान सञ्चालन गरेको विशेष निगरानी अभियानका क्रममा ७ हजार ७ सय थान भेपसहित एक जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार असार ८ गते बिहान बाह्रबिसे नगरपालिका–३ खागदल क्षेत्रमा शंकास्पद रूपमा गुडिरहेको बोलेरो गाडीलाई रोकेर जाँच गर्दा भेपको ठूलो खेप फेला परेको थियो। गाडीभित्र विभिन्न ब्राण्डका भेप लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको जनाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठ पक्राउ परेका छन्। उनीमाथि भन्सार छली तथा अवैध सामान ओसारपसारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद भेपको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ। सामान ढुवानीमा प्रयोग गरिएको प्रदेश ०३–००१ च १२१९ नम्बरको बोलेरो गाडीको मूल्यसमेत जोड्दा कुल २ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा आएको प्रहरीको भनाइ छ।
बरामद सामान र सवारी साधनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीले भन्सार छली तथा अवैध कारोबारविरुद्ध निगरानी थप कडा बनाइएको बताउँदै यस्ता गतिविधिमा संलग्न नहुन तथा कुनै सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।



