
सिरहा, असार ८ — सिरहा प्रहरीले लागुऔषध कारोबारविरुद्ध चलाएको विशेष अपरेसनका क्रममा एक कुख्यात ब्राउन सुगर कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। घटनामा एक नाबालकसमेत पक्राउ परेका छन्।
आइतबार साँझ सिरहा नगरपालिका–२१, लगडीगोठ क्षेत्रमा प्रहरीले भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) र उनका साथमा रहेका एक नाबालकलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार शाखाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गर्न खोज्दा समूहले प्रहरीमाथि ढुंगामुढा गरेको र भारततर्फ भाग्न प्रयास गरेको प्रहरीले जनाएको छ।
परिस्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेपछि अर्को राउन्ड गोली प्रहार गरेको थियो। प्रहरीको गोली छोटुको खुट्टाको पिँडुलामा लागेको छ। ढुंगामुढाबाट प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन्।
घाइते दुवैजनाको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट छोटु सिरहा क्षेत्रमा सक्रिय र कुख्यात लागुऔषध कारोबारी रहेको खुलेको छ। प्रहरीका अनुसार हालसम्म पक्राउ परेका अधिकांश लागुऔषध प्रयोगकर्ताले ब्राउन सुगर उनैबाट खरिद गर्ने गरेको बयान दिएका छन्।
एसपी पाठकका अनुसार छोटुले विगत केही वर्षमा करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको प्रारम्भिक तथ्य फेला परेको छ। उनले नाबालकहरूलाई समेत प्रयोग गरी संगठित रूपमा लागुऔषध कारोबार सञ्चालन गर्दै आएको प्रहरीको दाबी छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



