
दार्चुला, असार ८ गते। जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज भट्टलाई आर्थिक वर्ष २०८२/८३ को जेठ महिनाका उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको अपराध अनुसन्धान शाखामा कार्यरत भट्टलाई अपराध अनुसन्धान, फरार प्रतिवादीको खोजतलास तथा पक्राउ, लागूऔषध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी सञ्चालन तथा संगठनात्मक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको मूल्याङ्कनका आधारमा सम्मानित गरिएको हो।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका तथा विगतदेखि अनुसन्धानमा रहेका विभिन्न मुद्दाको सफल अनुसन्धान, जिल्लामा भएका अपराधहरूको तथ्यगत विश्लेषण तथा कार्ययोजना निर्माणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साथै मातहतका प्रहरी कर्मचारीहरूको प्रभावकारी परिचालन गरी कार्यालयको कार्यसम्पादन सुधारमा उल्लेखनीय योगदान पुर्याएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसँग भएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत सक्रिय भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक भट्टलाई नगद पुरस्कारसहित ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गौरव महताद्वारा हस्ताक्षरित निर्णयअनुसार भट्टलाई संगठनको गरिमा र श्रीवृद्धिमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।



