
काठमाडौं । पूर्व गभर्नर डा. तिलक रावलका छोरा विनय र उनी आबद्ध कम्पनी ‘एक्सप्लोराकोडो’ विरुद्ध बैंकबाट कर्जा लिने क्रममा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तथा वित्तीय विवरण प्रयोग गरिएको आरोप लगाउँदै नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता गरिएको छ।
उजुरीमा कम्पनीले आफ्नो वास्तविक कारोबारभन्दा ठूलो देखाउन प्रमाणित नभएका भ्याट बिल तथा वित्तीय विवरण बैंकमा पेश गरेको दाबी गरिएको छ। सोही आधारमा व्यावसायिक कर्जा स्वीकृत गराइएको भन्दै घटनाको छानबिन गर्न माग गरिएको छ।

उजुरीकर्ताले विनय र सम्बन्धित कम्पनीमाथि बैंकिङ कसुर तथा वित्तीय अनियमिततासम्बन्धी विषयमा अनुसन्धान हुनुपर्ने उल्लेख गरेका छन्। बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ग्राहकको वास्तविक कारोबार, आयस्रोत तथा करसम्बन्धी विवरणको मूल्याङ्कन गर्ने व्यवस्था रहेकाले प्रस्तुत गरिएका कागजातको सत्यता जाँच हुनुपर्ने माग पनि गरिएको छ।
प्राप्त जानकारीअनुसार ‘चेञ्ज फर नेपाल’ नामक इमेल ठेगानाबाट उक्त उजुरी राष्ट्र बैंकको गुनासो व्यवस्थापन इकाइमा पठाइएको छ। उजुरीको प्रतिलिपि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग र गभर्नरको कार्यालयमा समेत पठाइएको बताइएको छ।
यद्यपि, उजुरीमा लगाइएका आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। आरोपहरूको सत्यता सम्बन्धित निकायको अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।



