
काठमाडौं । बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १४ मुद्दामा फरार रहेका प्रतिवादी राजु मिजारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
सीआईबीका सह–प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार देबी चन्द्र जोशी लगायतको जाहेरीले वादी नेपाल सरकार रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ (साबिक विष्णु गा.वि.स.–८) का ४७ वर्षीय मिजारलाई पक्राउ गरिएको हो।

काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार उनीविरुद्ध बैंकिङ कसुरका १२ वटा र चेक अनादरका २ वटा गरी कुल १४ मुद्दा कायम रहेका छन्। अदालतको फैसलाअनुसार मिजारलाई कुल २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ बिगो, ४३ लाख २३ हजार ५३४ रुपैयाँ जरिवाना तथा १ लाख ७२ हजार ९४१ रुपैयाँ क्षतिपूर्ति तोकिएको छ। साथै उनलाई ९० दिन कैद सजाय समेत सुनाइएको छ।
प्रहरीले उनलाई जेठ २५ गते काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट पक्राउ गरेको हो। पक्राउपछि मिजारलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ।



