
अत्तरिया, कैलाली – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया क्षेत्रमा दिनदहाडै मोटरसाइकल चोरी गर्ने घटनामा संलग्न मुख्य अभियुक्तसहित तीन जना पक्राउ परेका छन्।
२०८३ जेठ २६ गते बिहान ८:५५ बजे से ७ प ३६९६ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएका व्यक्तिहरूलाई प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराका अनुसार मुख्य अभियुक्त गोदावरी नगरपालिका–९ बल्मी निवासी करिब २२ वर्षीय केशव चौधरीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको छ। चौधरीसँगै चोरी घटनामा संलग्न थप दुई जनालाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अत्तरिया क्षेत्रबाट मोटरसाइकल चोरी भएपछि प्रहरीले तत्काल खोजी तथा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न सफलता प्राप्त भएको डीएसपी महराले जानकारी दिए।
पक्राउ परेका तीनै जनामाथि मोटरसाइकल चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।



