काठमाडौं । आईतवार साझ ड्युटी सकेर घर फर्किँदै गरेका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको सडक दुर्घटनामा परी आज उपचारको क्रममा  दुखद निधन भएको छ। कर्तव्य पूरा गरेर फर्किने क्रममा भएको यो घटनाले सुरक्षा निकायदेखि सर्वसाधारणसम्मलाई स्तब्ध बनाएको छ।

तारकेश्वर नगरपालिका–८, डाँडागाउँस्थित सडकमा मोटरसाइकलमा सवार लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो। बागमती प्रदेश ०३-००१ ख १७१५ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

लामाको जीवनरक्षाका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी स्वयं सक्रिय रूपमा खटिएका थिए। तर चिकित्सकको प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको बताइएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरको मनहरी–५ निवासी ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

२०७७ सालमा इन्स्पेक्टर पदमा नाम निकाल्न सफल अभय लामा एक काबिल, अनुशासित र सबैसँग मिलनसार प्रहरी अधिकृतका रूपमा परिचित थिए। आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक खटिने उनी सहकर्मी र उच्च अधिकारीहरूबीच समेत लोकप्रिय थिए।

उनको असामयिक निधनले नेपाल प्रहरी संगठनमा अपूरणीय क्षति पुगेको छ। सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समर्पित एक ऊर्जाशील अधिकृतको बिदाइले सम्पूर्ण प्रहरी परिवार शोकमा डुबेको छ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिन्छ। ईश्वरले उहाँको आत्मालाई शान्ति प्रदान गरून्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय