
चितवन । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले विपद् उद्धार कार्यलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। विशेषगरी प्रत्येक पाँच किलोमिटरको दूरीमा हेलिप्याड स्थापना गर्न निर्देशन दिँदै आपतकालीन अवस्थामा हवाई उद्धार प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक भरत खनिया, सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनि कुमार पोख्रेल लगायत सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे पनि कार्यक्रममा सहभागी हुनुभएको थियो।
निरीक्षणकै क्रममा विपद् व्यवस्थापनसम्बन्धी तालिम, जनशक्ति तथा उपलब्ध साधन–स्रोतको अवस्थाबारे जानकारी गराइएको थियो। गृहमन्त्री गुरुङले विपद् पूर्वतयारीलाई थप सुदृढ बनाउँदै आवश्यक स्रोत–साधन विस्तारमा सरकारको प्राथमिकता रहने स्पष्ट पार्नुभयो।



