भैरहवा, रुपन्देही : रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवाबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने कारबाहीका क्रममा एक जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ७:२० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले आकस्मिक चेकपोइन्ट स्थापना गरी जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।

कोटहवाबाट छिपागढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको UP 56 F 9901 नम्बरको हिरो होण्डा मोटरसाइकललाई रोक्न खोज्दा चालकसहित सवार व्यक्तिहरू नरोकी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना भएको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले ढुंगा प्रहार गरी प्रतिकार गरिएको थियो, जसमा एक जना प्रहरी घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि आक्रमण जारी राख्दै भाग्न खोजेपछि प्रहरीले थप एक राउण्ड गोली प्रहार गर्दा रोहिणी गाउँपालिका–२ खुरुहुरियाका विशाल यादवको बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। घाइते यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको बताइएको छ।

घटनास्थलबाट भारत, महाराजगञ्ज पर्सामालिक ग्राम बिसुनपुरवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरिएको छ।

प्रहरीले उनीहरूको साथबाट ११०० एम्पुल फेनागन, ११०० एम्पुल डाइजोपाम र ११०० एम्पुल ब्रुफिन गरी जम्मा ३३०० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय