
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउ परेपछि सिर्जित तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सम्भावित झडप र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी रमेश थापाले सुरक्षाकर्मीहरूलाई विशेष निर्देशन दिएका छन् ।
आइतबार माइतीघर मण्डला पुगेर फिल्डमा खटिएका प्रहरी टोलीलाई सम्बोधन गर्दै एसएसपी थापाले सुरक्षा व्यवस्थामा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । उनले शान्ति सुरक्षा कायम गर्ने क्रममा कुनै कमजोरी हुन नदिने र कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्ने जोकोहीलाई पनि तत्काल नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन स्पष्ट आदेश दिएका छन् ।




