
काठमाडौं । सुदूरपश्चिममा रोकिएका स्वास्थ्य शिक्षा सम्बन्धी महत्वपूर्ण कामहरू अघि बढाउने उद्देश्यसहित शिक्षा, प्रविधि तथा युवा खेलकुद मन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

दसरथ चन्द स्वास्थ विज्ञानका उपकुलपति सुनिल कुमार जोशी रजिस्ट्रार खेमराज जोशी लगायतको टोलीले शिक्षा मन्त्री सस्तमित पोख्रेल कैलाली क्षेत्र नम्बर–२ का सांसद केपी खनाल नेतृत्वको टोलीसँग विश्वविद्यालय स्तरोन्नति र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरेका हुन्।
सांसद खनालको सक्रिय पहलमा भएको उक्त भेटघाटमा विश्वविद्यालयअन्तर्गत सञ्चालित अस्पतालको क्षमता विस्तार गर्दै हाल १०० शय्याबाट ३०० शय्यामा पुर्याउने सहमति भएको छ। यसले सुदूरपश्चिमका नागरिकलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
त्यस्तै, आवश्यक २ अर्ब ५८ करोड रुपैयाँको आर्थिक सुनिश्चिततासहित आगामी शैक्षिक सत्रदेखि नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। प्रस्तावित कार्यक्रमअन्तर्गत एमबीबीएसमा ५० सिट, नर्सिङमा ३० सिट, बीएससी एमएलटीमा २० सिट तथा अप्टोमेट्रीमा २० सिट सञ्चालन गरिने जनाइएको छ।
छलफलमा स्वीकृत भइसकेको ४३ करोड रुपैयाँ बजेट सिनेट बैठक बस्न नसक्दा कार्यान्वयन हुन नसकेको विषय पनि उठाइएको थियो। अब शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी यथाशीघ्र सिनेट बैठक आयोजना गरेर उक्त बजेट परिचालन गरिने सहमति भएको छ।
सरोकारवालाहरूका अनुसार, सांसद केपी खनाल नेतृत्वको टोलीको पहलले सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



