
काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमपछि उत्पन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृहमन्त्रालयमा उच्चस्तरीय सुरक्षा छलफल सम्पन्न भएको छ। साँझ बसेको उक्त छलफल केहीबेरअघि सकिएको हो।
गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायत उच्च सुरक्षा अधिकारीहरूसँग वर्तमान सुरक्षा अवस्थाबारे विस्तृत छलफल गरेका हुन्। स्रोतका अनुसार दिनभर देशभर विकसित घटनाक्रम, प्रदर्शन र त्यसको सम्भावित प्रभावबारे जानकारी लिन मन्त्री गुरुङले बैठक आह्वान गरेका थिए।

सरकारले हिजो मात्रै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।
उक्त पक्राउपछि काठमाडौंसहित देशका विभिन्न स्थानमा दिनभर प्रदर्शन भएको छ। राजधानीका केही स्थानमा स्थिति केहीबेर तनावग्रस्त समेत बनेको थियो। सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता बढाएको जनाएको छ।
छलफलमा वर्तमान परिस्थितिलाई नियन्त्रणमा राख्दै शान्ति सुरक्षा कायम गर्न आवश्यक रणनीतिबारे समेत गम्भीर समीक्षा गरिएको बताइएको छ।



