
काठमाडौँ । जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई ७ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले आइतबार चन्द्रागिरि नगरपालिका–५, आकाशे टोलबाट २५ वर्षीय सुभाष सुनारलाई नियन्त्रणमा लिएको हो।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, सानुटार स्थायी घर भई हाल चन्द्रागिरिमा बस्दै आएका सुनारलाई काठमाडौँ जिल्ला अदालतले २०७५ जेठ २४ गते दोषी ठहर गरेको थियो। अदालतको फैसलाअनुसार उनले ५ वर्ष ११ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ।

सजाय सुनाइएलगत्तै फरार भएका उनी काठमाडौँमै लुकिछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी तीव्र बनाएको थियो। प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार उनलाई आइतबार दिउँसो पक्राउ गरिएको हो।
पक्राउ परेका सुनारलाई फैसला कार्यान्वयनका लागि सोही दिन काठमाडौँ जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको छ। अदालतले उनलाई कैद भुक्तानका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।



