
बागलुङ । बागलुङ जिल्लामा ठूलो परिमाणमा अवैध हातहतियार बरामद गरिएको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने क्रममा प्रहरीले ४५ दिनभित्र ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाका साथै वनजङ्गलमा हुने चोरी–सिकारी नियन्त्रणलाई मध्यनजर गर्दै सञ्चालन गरिएको विशेष खोजी अभियानबाट अहिलेसम्मकै सबैभन्दा धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै अवैध हतियार इलाका प्रहरी कार्यालय बुर्तिवाङ मातहतबाट ६२ थान बरामद गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउने तथा चोरी–सिकारी नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर अवैध भरुवा बन्दुक खोजी गरी बरामद गरिएको प्रहरीले जनाएको छ।
ढोरपाटन सिकार आरक्ष तथा विभिन्न सामुदायिक वन क्षेत्रमा चोरी–सिकारी बढ्दै गएको, साथै गाउँघरमा आपसी विवाद र झैँ–झगडामा समेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम देखिएकाले इजाजत पत्रबिना लुकाइ–छिपाइ राखिएका भरुवा बन्दुक संकलन गरी बरामद गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका एकाइहरूले गरेको नियमित गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरहरूमा लुकाएर राखिएका अवस्थामा अवैध बन्दुक फेला पारिएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिनुभयो।
बरामद गरिएका अधिकांश भरुवा बन्दुक स्थानीयस्तरमै निर्माण गरिएको र चालु अवस्थामै रहेको पाइएको छ। इजाजत पत्रबिना भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र रु. ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै, बन्दुकहरू मानिसको पहुँचभन्दा टाढा लुकाइएकाले हालसम्म बन्दुकका मालिक पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।



