नवलपरासी (पश्चिम) । भारत–नेपाल सीमामा पर्ने नवलपरासी जिल्लाको भुजहवा नाका पछिल्लो समय कुखुरा र बाख्राको तस्करीको प्रमुख केन्द्र बन्दै गएको स्थानीयले बताएका छन्। भारतबाट नेपालतर्फ ठूलो परिमाणमा कुखुरा अवैध रूपमा भित्र्याइँदै आएको र नेपालबाट भारततर्फ नेपाली बाख्रा तस्करी भइरहेको भए पनि यसलाई नियन्त्रण गर्नुपर्ने जिम्मेवार निकाय सशस्त्र प्रहरी बल मौन बसेको आरोप स्थानीयले लगाएका छन्।

स्थानीयका अनुसार सशस्त्र प्रहरीकै मिलेमतो र संरक्षणका कारण भुजहवा नाकाबाट तस्करी खुलेआम सञ्चालन भइरहेको छ।

मूल्य अन्तरको फाइदा उठाउँदै अवैध आयात

स्थानीय पोल्ट्री व्यवसायीहरूका अनुसार भारतमा कुखुराको मूल्य नेपालभन्दा प्रतिकिलो करिब २० रुपैयाँ सस्तो छ। यही मूल्य अन्तरको फाइदा उठाउँदै भारतबाट दैनिक सयौँदेखि हजारौँ कुखुरा अवैध रूपमा नेपाल भित्र्याइने गरेको उनीहरूको दाबी छ।

खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले पैदल, साइकल, मोटरसाइकल तथा साना सवारी साधनमार्फत कुखुरा नेपाल ल्याउने गरेका छन्।

एक पोल्ट्री व्यवसायी भन्छन्, “हामीले कर तिरेर, नियम पालना गरेर उत्पादन गरेको कुखुरा बजारमा टिक्न सकेको छैन। भारतबाट अवैध रूपमा आएको कुखुराले बजार मूल्य नै खसालिदिएको छ।”

करोडौँ लगानी जोखिममा

नेपालका पोल्ट्री व्यवसायीहरूले करोडौँ रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गरेका छन्। तर तस्करीका कारण उत्पादन लागतसमेत नउठ्ने अवस्था आएको उनीहरूको गुनासो छ। बैंक ऋण, दाना, औषधि, मजदुर र ढुवानी खर्च बढ्दो छ भने बजार मूल्य तस्करीकै कारण घटिरहेको व्यवसायीहरू बताउँछन्।

यही अवस्था केही समय कायम रहे सयौँ पोल्ट्री फार्म बन्द हुने र हजारौँ मजदुर बेरोजगार बन्ने खतरा रहेको उनीहरूको चेतावनी छ।

बाख्राको पनि खुलेआम तस्करी

स्थानीयका अनुसार भुजहवा नाकाबाट कुखुरामात्र होइन, नेपाली बाख्रासमेत भारततर्फ तस्करी भइरहेको छ। ‘नेता’ नामले चिनिने एक भारतीय तस्करले दिउँसै टेम्पोमा बाख्रा लोड गरी भारत लैजाने गरेको आरोप लगाइएको छ।

एक स्थानीय भन्छन्, “दिउँसो उज्यालोमै टेम्पोमा बाख्रा बोकेर जान्छन्, सबैले देख्छन् तर कसैले रोक्दैन।”

सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न

सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल भुजहवामा प्रभावहीन देखिएको स्थानीयको आरोप छ। यदि सशस्त्र प्रहरी इमान्दार रूपमा सक्रिय भएको भए तस्करी सजिलै नियन्त्रणमा आउन सक्थ्यो भन्ने उनीहरूको भनाइ छ।

भुजहवा स्थित सशस्त्र प्रहरी बलको बीओपी प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक सन्तोष थापा कार्यरत छन्। उहाँकै कार्यकालमा तस्करी झनै बढेको स्थानीयको आरोप छ। तस्करीबारे पटक–पटक गुनासो गर्दा पनि ठोस कारबाही नभएको उनीहरू बताउँछन्।

राजश्वमा ठूलो क्षति

तस्करीका कारण राज्यको राजश्व संकलनमा गम्भीर क्षति पुगेको अर्थविद्हरू बताउँछन्। भन्सार छलि भित्रिने कुखुरा र बाहिरिने बाख्राले सरकारलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याइरहेको छ। यसले वैध व्यवसायी निरुत्साहित हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने खतरा रहेको उनीहरूको भनाइ छ।

छानबिन र कडा कारबाहीको माग

स्थानीय नागरिक, व्यवसायी तथा सरोकारवालाहरूले भुजहवा नाकामा भइरहेको तस्करीको निष्पक्ष छानबिन, दोषी तस्कर र उनीहरूलाई सहयोग गर्ने सुरक्षाकर्मीमाथि कडा कानुनी कारबाही, नेपाली पोल्ट्री तथा पशुपालक व्यवसायीको संरक्षण नीति, र सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पुनर्संरचना तथा कडा निगरानीको माग गरेका छन्।

स्थानीयका अनुसार यदि राज्य समयमै गम्भीर नभए भुजहवा नाका तस्करहरूको स्थायी अखडा बन्ने र नेपाली व्यवसायीहरू विस्थापित हुने जोखिम छ। यसले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्र, रोजगारी र सुरक्षा प्रणालीमै गम्भीर असर पार्ने उनीहरूको चेतावनी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय