कलैया — यातायात व्यवस्था कार्यालय कलैयामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षामा व्यापक अनियमितता भइरहेको गम्भीर आरोप लागेको छ। हाकिम, कर्मचारी तथा ट्राफिक प्रहरीको मिलेमतोमा परीक्षामा फेल भएका सेवाग्राहीलाई रकम असुली गरी पास गराइँदै आएको सूचना प्राप्त भएको छ।

यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख चिन्तन आचार्य कार्यालयमा हाजिर भएयता लिखित र ट्रायल परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरूबाट घुस लिई उत्तीर्ण गराउने कार्य हुँदै आएको आरोप छ। सेवाग्राहीहरूका अनुसार उक्त कार्यमा ट्रायल प्रमुख सन्तोष सिंह, लिखित प्रमुख मुकेश कुशवाहा तथा ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी निरीक्षक दीपक केसी समेत संलग्न रहेका छन्।

आरोपअनुसार, प्रमुख आचार्यले खुलेआम रकम असुली गरी फेल भएकालाई पास गराउँदै आएका छन्। उनका विश्वासपात्र रघुनन्दन साहले जिल्ला हुँदै मन्त्रालयसम्म ‘सेटिङ’ मिलाउने तथा पत्रकार व्यवस्थापन गर्ने जिम्मेवारी पाएको स्रोतको दाबी छ।

सेवाग्राहीहरूका अनुसार मोटरसाइकल लाइसेन्सका लागि १० हजारदेखि १५ हजार रुपैयाँ, चार पाङ्ग्रे सवारीका लागि १५ हजारदेखि २५ हजार रुपैयाँ, तथा हेभी सवारी तथा मेसिनरी साधनका लागि २५ हजारदेखि ७० हजार रुपैयाँसम्म रकम असुली गरी फेल भएकालाई पास गराइने गरिएको छ। रकम बुझाएपछि कम्प्युटर प्रणालीमै पास देखिने गरी लाइसेन्स भेरिफिकेसन मिलाइने गरिएको एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका छन्।

स्रोतका अनुसार ट्रायल सेन्टरमा जडान गरिएका सिसिटिभी क्यामेराका फुटेजसमेत आवश्यकताअनुसार सम्पादन गरी हटाइने गरिएको छ। प्रमुख आचार्यले आफ्ना विश्वासपात्र कर्मचारी, ट्रायल प्रमुख तथा बिचौलियाहरू परिचालन गरी खुलेआम घुस संकलन गर्दै आएको आरोप छ।

केही दिनअघि यातायात कार्यालयका तत्कालीन लिखित प्रमुख जीवन पौडेलले ठूलो भ्रष्टाचार गरेको आरोप लगाउँदै सेवाग्राहीहरूले कालो मोसो दलेका थिए। उक्त घटनापछि पौडेललाई जिम्मेवारीबाट हटाई उनको स्थानमा मुकेश कुशवाहालाई लिखित प्रमुखको जिम्मेवारी दिइएको थियो। कुशवाहाले पनि फेल भएका परीक्षार्थीलाई पैसाको बलमा लिखित परीक्षामा पास गराउँदै आएको आरोप छ।

लिखित परीक्षामा ‘सेटिङ’ भएका परीक्षार्थीलाई ५–६ वटा प्रश्नमा मात्र चिन्ह लगाउन लगाई बाँकी खाली छोड्न लगाइने र त्यसपछि लिखित प्रमुखको सहमतिमा कर्मचारीहरूले नै उत्तर भरी पास गराउने गरिएको आरोप छ। प्रयोगात्मक परीक्षामा सेटिङ भएका परीक्षार्थीका लागि प्रमुख आचार्यले व्यक्तिगत रूपमा खरिद गरेका मोटरसाइकल प्रयोग गराइने तथा दक्ष चालकलाई हेल्मेट र मास्क लगाएर अनुहार नदेखिने गरी ट्रायल दिन लगाइने गरेको स्रोतको दाबी छ।

यसैगरी, ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी निरीक्षक दीपक केसी पनि यस अवैध धन्दामा संलग्न रहेको गम्भीर आरोप लागेको छ। कर्मचारीहरूका अनुसार ट्रायल सेन्टरमा केसीको प्रभाव अत्यधिक रहेको छ।

नाम नछाप्ने सर्तमा एक कर्मचारी भन्छन्,

“यातायात कार्यालयमा प्रमुखपछि सबैभन्दा ठूलो प्रभाव केसीकै चल्ने गर्छ। ट्रायल सेन्टरमा कसलाई पास गर्ने र कसलाई फेल गर्ने भन्ने निर्णय धेरै हदसम्म उनकै हातमा हुन्छ।”

सेवाग्राहीहरूले पास भइसकेकाहरूलाई समेत फेल गराई पुनः रकम असुल्ने गरिएको गुनासो गरेका छन्। लिखित तथा प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुने भएकाले उनीहरूको सहमतिविना कुनै काम अघि नबढ्ने आरोप छ। मधेश प्रदेश ट्राफिक प्रहरी नेतृत्व र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको मिलेमतोमा भ्रष्टाचार मौलाएको सेवाग्राहीहरूको भनाइ छ।

यस विषयमा प्रतिक्रिया लिन यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख चिन्तन आचार्यलाई फोन सम्पर्क गर्दा मोबाइल स्विच अफ रहेकोले सम्पर्क हुन सकेन।

यातायात व्यवस्था कार्यालय कलैयामा भइरहेको यस्ता गम्भीर गतिविधितर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्काल ध्यान जान आवश्यक देखिएको छ।

~कृष्ण यादव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय