
काठमाण्डौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सञ्चालन गरिएको ट्राफिक सप्ताह २०८२ को समापन कार्यक्रम माघ ३ गते शनिबार दिउँसो ३ बजे ठमेल चोकमा आयोजना हुने भएको छ। ‘दुर्घटना न्यूनीकरण’लाई मूल नारा बनाएर सुरु गरिएको उक्त कार्यक्रम सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गरिने तयारी गरिएको छ।
समापन कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय गायक जोन चाम्लिङ राई, हास्य कलाकार मनोज गजुरेल, किरण केसी, एलिस राई, चर्चित गायिका आस्था राउत, लोकगायक बालचन्द्र बराल, बबिता बानिया, जेरि लगायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा चर्चित कलाकारहरूको सहभागिताले कार्यक्रमलाई अझ आकर्षक र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार एक हप्तासम्म सञ्चालन गरिएको ट्राफिक सप्ताहले ट्राफिक प्रहरी र नागरिकबीचको दूरी घटाउँदै आपसी सम्बन्ध थप सुदृढ बनाएको बताए। उनका अनुसार ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी सावित भएको छ।
समापन कार्यक्रम ठमेल चोकस्थित सञ्चयकोष भवन अगाडि खुला रूपमा आयोजना हुने भएकाले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सर्वसाधारणलाई आग्रह गरेको छ।



