काठमाडौँ । “दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत सातौँ दिन आज ट्राफिक सचेतनामूलक प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

ट्राफिक प्रहरी प्रभाग बुढानीलकण्ठ, प्रहरी प्रभाग बुढानीलकण्ठ तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, महानायक राजेश हमाल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम कुमार खड्काको सहभागिता रहेको थियो। साथै कलाकार सुरबिर पण्डितको समेत उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

चपली चोकस्थित ध्रुवतारा माध्यमिक विद्यालयदेखि निलोपुल तपेश पार्टी प्यालेससम्म सञ्चालन गरिएको प्रभातफेरी कार्यक्रममा विभिन्न सुरक्षा निकाय, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, व्यापार संघ, सवारी चालक–सहचालक, समाजसेवीलगायत करिब १२०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रभातफेरीका क्रममा ट्राफिक नियम पालना, सडक अनुशासन र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देशमूलक नाराहरू प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न र सुरक्षित सडक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय