
कर्णाली । डोल्पामा लागुऔषध काण्डले नाटकीय मोड लिएको छ। लागुऔषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले चेकजाँच गर्न खोज्दा एक शंकास्पद युवक बेपत्ता भएपछि प्रहरीविरुद्धै ‘मानिस बेपत्ता बनाएको’ आरोपसहित किटानी जाहेरी दर्ता भएको छ।
घटना त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका करिब ३५ वर्षीय जुन रोकायासँग सम्बन्धित हो। प्रहरीका अनुसार चेकजाँचको सूचना पाएपछि रोकाया भागेर बेपत्ता भएका हुन्। तर स्थानीय र आफन्तले भने प्रहरीको लखेटाइका कारण उनी भेरी नदीमा हाम फाल्न बाध्य भएको दाबी गरेका छन्।

घटनापछि स्थानीय आक्रोशित बनेर प्रहरी चौकीमाथि आक्रमणसमेत गरेका थिए, जसमा केही प्रहरी घाइते भए। विवाद चर्किएपछि डोल्पाको यातायात सेवा केही समय ठप्प भयो। दबाबपछि छानबिन समिति गठन गर्ने सहमति भएको छ।
यसैबीच रोकायाकी श्रीमतीले चेकजाँचमा संलग्न प्रहरी कर्मचारीहरूमाथि ‘मानिस बेपत्ता बनाएको’ आरोपमा किटानी जाहेरी दिएकी छन्। जाहेरीपछि सम्बन्धित प्रहरीहरूलाई जिम्मेवारीबाट हटाई आन्तरिक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयले निष्पक्ष छानबिन र बेपत्ता युवकको अवस्था सार्वजनिक गर्न माग गरेका छन्। घटनाले डोल्पामा प्रहरीको कार्यशैली, मानव अधिकार र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।



