
काठमाडौं । “दुर्घटना होइन, सचेतना रोजौँ” भन्ने मूल नारासहित नेपाल प्रहरीको आदर्श वाक्य सत्यसेवा सुरक्षा लाई आत्मसात् गर्दै ट्राफिक प्रहरी प्रभाग कलंकी, काठमाडौंले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह विशेष सांस्कृतिक कार्यक्रम २०८२ आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजीपी ईश्वर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

कार्यक्रम मिति २०८२ साल पौष २९ गते, दिउँसो २:०० बजे काठमाडौंको कलंकी खड्कुलेपुलबाट मालपोत कार्यालयतर्फ जाने सडक छेउमा आयोजना हुने आयोजकले जनाएको छ।
ट्राफिक प्रहरी प्रभाग कलंकीको आयोजनामा हुन लागेको यस विशेष कार्यक्रममा सडक सुरक्षा, ट्राफिक नियम पालना तथा नागरिक सचेतनालाई केन्द्रमा राखेर सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ। साथै, कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने जानकारी पनि आयोजकले दिएको छ।
ट्राफिक प्रहरी प्रभाग कलंकीका कार्यालय प्रमुख प्रहरी निरिक्षक राजिव बस्नेता अनुसार, यस प्रकारका कार्यक्रममार्फत ट्राफिक नियमको महत्वलाई सहज र प्रभावकारी ढंगले आम नागरिकसम्म पुर्याउने, दुर्घटना न्यूनीकरणमा जनसहभागिता बढाउने तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिइएको छ।
ट्राफिक प्रहरी प्रभाग कलंकीले सम्पूर्ण नागरिक, सवारी चालक, विद्यार्थी, स्थानीय समुदाय तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई सडक सुरक्षा अभियानलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।



