
काठमाडौँ । उपत्यकामा पछिल्लो समय बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै आज कलङ्की क्षेत्रमा ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ। उपत्यकाभित्र दुर्घटनाको सम्भावना उच्च रहेका विभिन्न स्थानलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमअन्तर्गत सवारी साधनहरूमा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक स्टिकर टाँस्ने, सवारी चालक, सहचालक तथा यात्रुलाई ट्राफिक नियम पालना गर्न प्रत्यक्ष सम्झाइ–बुझाइ गर्ने कार्य गरिएको थियो।

विशेषगरी तीव्र गति नियन्त्रण, लेन अनुशासन, मापसे गरी सवारी नचलाउने, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने लगायतका विषयमा जोड दिइएको थियो।
ट्राफिक प्रहरीका अनुसार उपत्यकामा हुने अधिकांश दुर्घटना मानवीय लापरवाही, नियम उल्लङ्घन र असावधानीका कारण हुने गरेका छन्। त्यसैले दण्डभन्दा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी उपायका रूपमा लिइँदै यस्ता अभियानलाई निरन्तरता दिइएको हो।
कलङ्की जस्तो व्यस्त चोक तथा उपत्यकाको मुख्य प्रवेशद्वार क्षेत्रमा गरिएको जनचेतना कार्यक्रमले सवारी चालकमा जिम्मेवारीबोध बढाउने, यात्रुको सुरक्षाप्रति सजगता ल्याउने र समग्रमा सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि उपत्यकाका अन्य जोखिमयुक्त स्थानहरूमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।



