
बारा, माघ २४ — इलाका प्रहरी कार्यालय प्रसौनीले लागू औषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी, बारा बाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमान्डमा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले कारबाट अफिम बरामद गरेको हो।
प्रहरीका अनुसार माघ २४ गते साँझ करिब २:३० बजे प्रसौनी गाउँपालिका–१ नकटुवा क्षेत्रमा नकटुवाबाट प्रसौनीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको BR01CL6079 नम्बरको कारलाई शंका लागि जाँच गरिएको थियो। जाँचका क्रममा कालो प्लास्टिकमा प्याक गरिएको दुई पोका अफिम फेला परेको हो। बरामद अफिमको तौल करिब २ केजी २४ ग्राम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा कारमा सवार तीन जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाइ नगरपालिका–७ निवासी राम नारायण राउत कुर्मीका छोरा ३८ वर्षीय निलेश पटेल, कार चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मोहम्मद समिरका छोरा ३२ वर्षीय जौवाद अहमद तथा पर्सा जिल्ला बिन्दाबासिनी गाउँपालिका–२ निवासी राम यकवाल प्रसाद चौरसियाका छोरा ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।
प्रहरीले बरामद लागू औषध, प्रयोग भएको कार तथा पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागू औषध (नियन्त्रण) ऐन अनुसार थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।



