बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध आर्थिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई, बालुवाटारबाट प्राप्त सूचनाअनुसार बैंक तथा वित्तीय संस्थामार्फत ठूलो मात्रामा शंकास्पद कारोबार भइरहेको विवरण आएपछि बाँके प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बाँकेको डुडुवा गाउँपालिका–६ निवासी ४० वर्षीय ईरफान अहमद शेखको बैंक खाताबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नगद रकम खातामा जम्मा हुने बित्तिकै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति तथा संस्थामा रकमान्तर हुने गरेको पाइएको छ। साथै, उक्त कारोबारमा निज स्वयं ‘कन्डक्टर’को भूमिकामा संलग्न रहेको, केवाइसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच कुनै मेल नखाएको तथ्य पनि अनुसन्धानबाट खुलेको छ।

यसै आधारमा मिति २०८२ साउन ७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार प्राप्त भई ईरफान अहमद शेखविरुद्ध हुण्डि सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई प्रहरीले पुस ११ गते शुक्रबार पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ अनुमति भने २०८२ भदौ ३० गते नै जारी भइसकेको थियो।

हाल पक्राउ परेका प्रतिवादीमाथि हुण्डि सम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

एसपी अंगुर जिसीको नेतृत्वमा बाँके प्रहरीले अवैध आर्थिक गतिविधि, हुण्डि तथा संगठित अपराध नियन्त्रणमा प्रभावकारी काम गर्दै आएको उल्लेख गर्दै यस्ता गैरकानुनी कारोबारविरुद्ध आगामी दिनमा पनि कडा कारबाही जारी रहने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय