
बर्दिया । बर्दियामा प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको सादा पोसाकको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बढैयाताल गाउँपालिका–६, मैनापोखर बजार क्षेत्रमा मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। मोटरसाइकल चालक परिवर्तित नामथर संकेत नं. ६६ र पछाडि सवार प्रवेश चमारको साथबाट लुकाइछिपाइ राखिएको लागूऔषध फेला परेको हो।

प्रहरीका अनुसार जफत गरिएको लागुऔषध ५० ग्राम ९७० मिलिग्राम ‘ब्राउन सुगर’ बरामद गरिएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताएका छन्।



