
पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका गरगहनाहरू तथा ठूलो परिमाणको नगदसहित एक नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा बुधबार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
वीरगञ्ज महानगरपालिका–३२ स्थित जितपुरबाट मिलनचोकतर्फ जाँदै गरेको लु.९६–५–३७३३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा चोरीका गरगहना भेटिएपछि चालक विजय राय (३३, भारत बिहार) र पछाडि बसिरहेका शेख बुनाद (६०, भारत बिहार) पक्राउ परेका हुन्।

बुनादको पाइन्टको दाहिने खल्तीबाट सेतो रूमालमा बेरिएको, बिल–बिजक नभएको सुनजस्तो र चाँदीजस्तो देखिने धातुका विभिन्न गरगहनाहरू बरामद गरिएको पर्सा प्रहरीका प्रमुख एसपी सुदीप पाठकले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले वीरगञ्ज–३२, टेढा मुसहरटोल निवासी विद्याकुमार नट (२०, नेपाल) को घरमा खानतलासी गर्दा करिब ३६ लाख ७० हजार ५१ रुपैयाँ बराबरका गरगहना फेला पारेको बताइएको छ। पक्राउ परेकै समूहका विनोद राउत (३१, भारत बिहार) पनि गिरोहमा संलग्न रहेको प्रहरीको निष्कर्ष छ।
चारै जनालाई नियन्त्रणमा लिएर चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान जारी रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बरामद सामग्री
- चाँदीका वाला – ४ थान
- सुनका सिक्री – ११ थान
- चाँदीका पाउजो – १० थान
- सुनका झुम्का – २ थान
- चाँदीका सिक्का – २ थान
- सुनका नथिया – ३ थान
- सुनका माँगटिका – २ थान
- चाँदीका बिछिया – ८ थान
- सुनको पोतो जडित माला – २ थान
- चाँदीका हथशंकर – २ थान
- सुनको लकेट – १ थान
- सुन–चाँदी तौल गर्ने तराजु – १ थान
- सुनको औंठी – १ थान
- ढक्क विभिन्न–
बरामद नगद
- नेपाली रुपैयाँ – ३,७९,०००
- भारतीय रुपैयाँ – ९२,००१
प्रहरीका अनुसार यो समूह विगत केही समयदेखि सीमा क्षेत्र केन्द्रित चोरी कारोबारमा संलग्न रहेको प्रारम्भिक देखिएको छ।



