
प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ठूलो परिमाणमा लागुऔषध (ट्रामाडोल) बरामद गरेको छ। बिहीबार ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई जानकारी दिएका छन्।

लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ का ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौँडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ का २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दीपेश सञ्जेल छन्।
पक्राउ पर्ने एक अभियुक्त, बक्सर भनेर चिनिने रवि लामा, यसअघि बलात्कार मुद्दामा ६ वर्ष जेल बसेर छुटेका थिए। विशेष सुराकका आधारमा उनीहरूलाई खाल्डो खनेर ट्रामाडोल लुकाउन लागेको अवस्थामा पक्राउ गरिएको एसपी बोहराले बताए।
अभियुक्तहरूको विरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ।



