
नुवाकोट । बडादशैं, तिहार र छठ पर्व–२०८२ लाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय खरानीटारले ग्रामीण गस्तीलाई थप सशक्त बनाउने भएको छ। पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै कार्यालय प्रमुख प्रहरी निरीक्षक जयन्ती थापाले मातहतका सम्पूर्ण प्रहरी युनिट प्रमुख तथा सकल दर्जाका प्रहरीलाई जनसेवामा तल्लीन भई जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिएकी छन्।
यस अभियान अन्तर्गत तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिकाका सबै वडा तथा पञ्चकन्या गाउँपालिकाका केही वडालाई जिम्मेवारी क्षेत्र बनाई ग्रामीण भेग, बजार क्षेत्र, धार्मिक स्थल तथा सार्वजनिक स्थानहरूमा प्रहरीको उपस्थिति बढाइने जनाएको छ।


सवारी दुर्घटना नियन्त्रण, आपराधिक गतिविधि रोकथाम तथा अमर्यादित कार्यहरू नियन्त्रण गर्ने उद्देश्यले नियमित गस्ती, आकस्मिक चेकजाँच र जनसम्पर्कलाई प्राथमिकतामा राखिएको छ।
कार्यालय प्रमुख थापाले स्थानीय तह, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम तथा सर्वसाधारणसँग सहकार्य गर्दै यसपालीको चाडपर्वलाई सुरक्षित, शान्त र अपराधमुक्त बनाउन प्रतिबद्ध रहेको बताइन्। साथै, इलाका प्रहरी कार्यालय खरानीटारले सर्वसाधारणलाई शंका लाग्ने गतिविधि वा घटना देखे तत्काल प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेको छ।





