सुरक्षा सरोकार — गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आयोजना गरेको आन्दोलनले देशभर सुरक्षा संरचनामा अभूतपूर्व क्षति पुर्‍याएको छ। आन्दोलनको शुरुवात शान्तिपूर्ण थियो, युवाहरूले प्रतिवद्धता जनाएका थिए कि सार्वजनिक वा निजी सम्पत्तिमा क्षति नपुग्नेछ र प्रहरीमाथि कुनै हिंसा प्रयोग गरिने छैन। तर केही घण्टाभित्रै अवस्था विपरित भयो।

काठमाडौँ उपत्यकामा विद्यार्थी र आन्दोलनकारीको भीड संसद् भवनतर्फ अघि बढ्दा राज्य पक्षले संयमता अपनाउन असफल भयो। अचानक गोली चल्दा केही युवा सहित निर्दोष नागरिकको मृत्यु हुन सक्ने अवस्था सिर्जना भयो। यसले आम जनतामा ठूलो आक्रोश र असन्तुष्टि जन्मायो। परिणामस्वरूप नेताहरूका घर, सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक संरचना, सार्वजनिक कार्यालय र प्रहरी भवनमा व्यापक क्षति भयो।

काठमाडौं उपत्यका मात्र होइन, सुदूरपश्चिमसम्म फैलिएको आन्दोलनले देशभरका प्रहरी संरचनालाई लक्षित गर्दै ठूलो भौतिक क्षति पुर्‍याएको छ। प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र मेट्रो प्रहरी कार्यालयमा आगजनी, तोडफोड र कब्जा हुने दृश्य सार्वजनिक भए। सयौँ सवारीसाधन जलेर खरानी भए। यी घटनाले स्पष्ट देखाउँछ कि आन्दोलनकारीहरूले प्रहरीलाई पहिलो निशाना बनाएका थिए।

यति मात्र होइन, जेनजी आन्दोलनमा प्रहरी कार्यालयमात्र होइन, तीन जना प्रहरी कर्मचारीलाई निर्दयतापूर्वक हत्या गरिएको छ। साथै, सयौं प्रहरी घाइते भएका छन्। आन्दोलनकारीको हिंसात्मक गतिविधिले सुरक्षा निकायमाथि ठूलो चोट पुर्‍याएको छ र नागरिक–प्रहरी सम्बन्धमा गम्भीर असर परेको छ। कार्यालयमा रहेका एक सयभन्दा बढी हतियार लुटपाट पनि भएका छन्। लुटेराहरूले खोलमै फ्याँक्दै कार्यालय भित्रबाट हतियार लिएर लगेका थिए। सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा राख्न सक्रिय भए पनि आगजनी र लुटपाटका कारण ठूलो क्षति पुष्टि भएको छ।

जेनजी आन्दोलनको निशानामा प्रहरी कार्यालय किन परे?

सडकमा नागरिक र राज्यबीचको पहिलो सम्पर्क प्रहरी नै हुन्छ। आन्दोलनकारीहरूको असन्तुष्टि, क्रोध वा आक्रोश प्रहरीमाथि सिधै प्रकट हुन्छ। संसद्, मन्त्री वा राजनीतिक नेतृत्वसम्म प्रत्यक्ष पुग्न नसक्दा प्रहरी कार्यालयमाथि आक्रमण हुन्छ।

आन्दोलनलाई नियन्त्रण गर्न प्रहरी अग्रपंक्तिमा खटिन्छन्। लाठीचार्ज, अश्रुग्यास वा अन्य नियन्त्रणका उपाय प्रयोग गर्दा उनीहरू दमनकारी शक्ति जस्तै देखिन्छन्। नतिजा स्वरूप प्रहरी संरचना शत्रुका रूपमा देखिन्छ र पहिलो लक्ष्य बन्छ। नेतृत्वले नागरिकका माग सम्बोधन नगर्दा वा असफल शासन सञ्चालन गर्दा जनआक्रोश प्रहरीमाथि निस्कन्छ। नेतासम्म प्रत्यक्ष आक्रमण गर्न नसक्दा सुरक्षा र प्रशासनिक संरचनाले त्यो स्थान भर्छ।

प्रहरी कार्यालय जलाउनु वा सवारीसाधन नष्ट गर्नु आन्दोलनकारीका लागि “हामीसँग शक्ति छ” भन्ने सन्देश दिनेजस्तो रणनीति हो। यसले राज्यलाई भयभीत पार्ने उद्देश्य राख्छ। त्यस्तै, घूस, राजनीतिक हस्तक्षेप र विभेदपूर्ण व्यवहारले नागरिक–प्रहरी सम्बन्धमा दीर्घकालीन अविश्वास जन्माएको छ। आन्दोलनको बेला यही अविश्वास हिंसात्मक रूपमा सतहमा आउँछ।

अब प्रहरीले के सिक्नुपर्छ?

जेनजी आन्दोलनले प्रहरीका भवन, सवारीसाधन र जनशक्तिमा भौतिक क्षति पुर्‍याए पनि यसको सबैभन्दा ठूलो असर नागरिक–प्रहरी सम्बन्धमा दरार आएको हो। यदि राज्य र प्रहरी नेतृत्वले यो सन्देश बुझ्न सकेन भने, भविष्यमा कुनै पनि आन्दोलन अझै हिंसात्मक र विनाशकारी हुन सक्छ। त्यसैले आजको चुनौती—प्रहरीलाई दमनकारी शक्ति होइन, नागरिकको साझेदारको रूपमा पुनःस्थापित गर्नु हो।

आवश्यक कदमहरू

१. संयमता अवलम्बन अनिवार्य: गोली चलाउन भन्दा पहिले कानुनी र मानवीय विकल्प अपनाउनु पर्छ। गैरघातक उपायहरू नियमसंगत र पारदर्शी प्रयोग हुनुपर्छ।

२. संवाद र समन्वय विस्तार: आन्दोलनकारी र सुरक्षा निकायबीच नियमित संवाद, मैदानी वार्ता र मध्यस्थता प्रणाली अनिवार्य हुनुपर्छ।

३. समुदाय–पुलिस विश्वास निर्माण: स्थानीय तह, समाजसेवी र धार्मिक नेता समावेश गरी नियमित संवाद, सहयोगी कार्यक्रम र उजुरी–निवारण प्रणाली आवश्यक छन्।

४. प्रशिक्षण र जवाफदेहिता: भीड नियन्त्रण, बल प्रयोग नियम र मानवअधिकारमैत्री अभ्यास अनिवार्य छन्। उल्लङ्घन भए पारदर्शी अनुगमन र द्रुत अनुसन्धान हुनुपर्छ।

५. आपतकालीन तयारी: प्रहरीका लागि राहत कोष, आश्रय र प्राथमिक आवश्यकताका सामग्री पूर्वतयारीमा राखिनुपर्छ।

६. पुनर्निर्माण र न्यायमा सक्रियता: क्षतिग्रस्त संरचना र सम्पत्तिको शीघ्र पुनर्निर्माण, दोषीको पहिचान र न्यायोचित दण्ड, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनु राज्यको दायित्व हो।

आन्दोलन र सामाजिक परिवर्तन लोकतान्त्रिक अधिकार हुन्। तर मानव जीवन र संस्थागत विश्वासको रक्षा पनि उत्तिकै महत्वपूर्ण छ। गोली चलाएर तत्काल शान्ति ल्याउन सकिन्छ, तर यसले दीर्घकालीन अविश्वास, विभाजन र बदला निम्त्याउँछ।

त्यसैले—पहिले संयम, त्यसपछि संवाद र लगातार विश्वास निर्माण; अनि मात्रै दमनको विकल्प विचार गर्नु पर्छ। यही बाटोले भविष्यमा यस्ता पीडादायी घटनाबाट जोगिन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय