
काठमाडौं — सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको लेकम गाउँपालिका–३, गुमाखोली घर भएका प्रहरी जवान उत्तम ९ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए । मंगलबार जेन–जी आन्दोलनपछि भएको प्रदर्शनका क्रममा उनी कुटपिटमा परेर ज्यान गुमाएका हुन् ।
उत्तम घरका जेठा सन्तान थिए । सात महिनाअघि घाँसदाउरा गर्ने क्रममा भाइको मृत्यु भएपछि घरको सम्पूर्ण जिम्मेवारी उनीमाथि आएको थियो । ‘चार दिनपछि घर आउँछु भनेर परिवारलाई जानकारी दिएका रहेछन्,’ वडाध्यक्ष सुरेश थापाले भने, ‘आन्दोलनकै दिन पनि साथीभाइलाई आफू सुरक्षित रहेको फोन गरेका रहेछन्, तर अन्ततः मृत्युको खबर आयो ।’

थापाकै जागिरले घरधन्दा चल्दै आएको थियो । उनका बुबा पहिले नै सुगर रोगका कारण ज्यान गुमाइसकेका थिए । दुवै छोराको मृत्यु भएपछि आमा बोल्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष थापाले बताए । परिवारसँग गाउँमा कच्ची घर बाहेक पर्याप्त उब्जनी गर्ने जमिनसमेत छैन ।



